काठमाडौँ । जनताद्वारा निर्वाचित संसद्को सार्वभौमिकतालाई नै खुलेआम चुनौती दिनेगरी निजामती कर्मचारी विधेयकमा ‘किर्ते’ भएपछि हङ्गामा भएको छ । विधेयकमा व्यवस्था गरिएको कुलिङ पिरियडको २ वर्षे प्रावधान विपरीत किर्ते गरेको पाइएपछि हङ्गामा भएको हो ।>
प्रतिनिधि सभाबाट पारित उक्त विधेयकमा चोरबाटोबाट शब्द थप गरेर २ वर्षे कुलिङ पिरियडको प्रतिकूल बनाउने काम भएको छ । राज्य व्यवस्था समितिबाट विधेयकको प्रतिवेदन सर्वसम्मतिले पास हुँदा कर्मचारीहरूले सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो । तर प्रतिनिधि सभाबाट पास भएको विधेयकमा हेरफेर गरेर कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा ‘बाहेक’ शब्द थपेर चलखेल गरेको पाइएको हो ।>
समितिको प्रतिवेदनको बुँदा नं ४३ मा ‘निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले २ वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था थियो । उक्त बुँदा मूल विधेयकको दफा ८२ को उपदफा ४ मा समावेश गर्ने प्रतिवेदनमा भनिएको छ ।>
यो व्यवस्था विपरीत आइतबार प्रतिनिधि सभाबाट पारित विधेयकमा भने उपदफा ५ मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन’ नहुने भनिएको छ । यसरी नाटकीय रूपमा कुलिङ पिरियडलाई निष्प्रभावी बनाउने प्रयास भएसँगै चौतर्फी आलोचना भएको छ भने सभामुख देवराज घिमिरेले यसबारे मंगलबार नै समितिका सभापति रामहरि खतिवडासहितका सरोकारवालासँग छलफल गरेका छन् ।>
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलपछि एमाले सांसद पदम गिरीले राज्य व्यवस्था समितिमा लामो छलफल भएर समितिले कुलिङ पिरियडलाई कायम राखेको बताए । ‘अहिले अचम्म के भयो भने मुख्यसचिव, सचिव, सहसचिवहरूमा लागु नहुने प्रकारले जुनखालको प्रतिवेदन बन्यो र संसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो’, उनले भने, ‘यो समितिको उपहास हो । सार्वभौम संसद् र समितिको गरिमा र भूमिका धूलिसात बनाउने कार्य हो ।’>
यो कार्य जहाँबाट भए पनि निर्मम कारबाहीको विषय बन्नुपर्नेमा सांसद गिरीले जोड दिए । उनले यो कार्य कुनै पनि हालतमा स्वीकार हुन नसक्ने बताउँदै लामो छलफलपछि जे निष्कर्ष निस्कियो, त्योभन्दा दायाँबायाँ हुन नसक्ने स्पष्ट पारे ।>
यो विषयमा गम्भीर छानबिन हुनुपर्ने धारणा राख्दै ठोस निस्कर्ष नकिस्केसम्म राज्य व्यवस्था समितिको बैठक नै अघि बढ्न नसक्ने उनले बताए। >
सांसद गिरीले सभामुख देवराज घिमिरेले पनि यो विषयमा छानबिन हुनुपर्ने बताएको उल्लेख गर्दै यस्तो गलत क्रियाकलापमा संलग्नले राजीनामा दिनुपर्ने जिकिर गरे ।>
यसैगरी माओवादी केन्द्रका नेता जनार्दन शर्माले कुलिङ पिरियडको विषयमा समितिले पास गरेको विषयभन्दा बाहिर गएर नियतवश शब्द थप्ने काम भएको बताए । उनले भने, ‘संसद्को उपहास र हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्नेगरी जुन षड्यन्त्र र बदमासी गरियो, यो तुच्छ कार्य हो, छानबिन हुनुपर्छ ।’>
सांसद शर्माले यस कमजोरीको जिम्मेवारी समितिका सभापति खतिवडा, समिति या सचिव सुरजकुमार दुरा क-कसले हो लिनुपर्ने बताए । उनले यो खालको छलछामबाट गम्भीर प्रश्न उठेकाले सबै विषय छानबिनबाट टुङ्गो लगाइनुपर्ने धारणा राखे ।>
पद्मप्रसाद पाण्डेमाथि शंकाको सुई>
प्रतिनिधि सभामा अहिले महासचिवको भूमिकामा पद्मप्रसाद पाण्डे छन् । उनी नै महासचिव रहेको प्रतिनिधि सभाबाट समितिको निर्णयसहितको प्रतिवेदन हुबहु पेस भएर आइतबार पारित भएको हो । तर, पारित भइसकेको उक्त विधेयक अहिले आएर किर्ते भएकाले उनीमाथि शंका गर्ने प्रशस्त ठाउँ रहेको संसद सचिवालयकै कर्मचारी बताउँछन् ।>
रोचक त के छ भने कुलिङ पिरियड राख्ने समितिमा भएको सहमतिविरुद्ध गत जेठ ८ मा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा नेताको घरघर र सिंहदरबारस्थित शक्तिकेन्द्रमा धाउँदा त्यसको महत्त्वपूर्ण सदस्य पाण्डेय पनि थिए । उनीहरूको दौडधुपबारे सञ्चारकर्मीले भिडियो खिच्दा उनी मुख छोप्दै सिंहदरबारमा दौडिरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।>
जेठ २ गते शुक्रबारको बैठकले नै विधेयकमा कुलिङ पिरियड राख्ने निर्णय गरेको थियो । त्यसलगत्तै अर्यालको नेतृत्वमा सुरुमा निकै दौडधुप भए पनि समिति र शीर्ष नेतृत्वसमेत त्यसमा टसमस नभएपछि अन्तिममा संसदकै महासचिव प्रयोग गरेर विधेयकमा किर्ते भएको आशंका गरिएको छ ।>
विवादित पृष्ठभूमिका पाण्डेयले आफ्नो बारेमा समाचार प्रकाशित भएपछि त्यतिबेला सञ्चारमाध्यमलाई धम्क्याउने प्रयाससमेत गरेका थिए ।>
संसद सचिवालयकै स्वामित्वमा रहेको विधेयकमाथि किर्ते गरी शब्द थपघट भएको घटनामा महासचिवले नैतिक जिम्मेवारीबाट उम्किन नमिल्ने सरोकारवाला बताउँछन् । उनी मातहतकै कर्मचारीबाट शब्द हेरफेर गरेकै भएपनि उनको आडभरोसा विना यो सम्भव हुन नसक्ने उनीहरुको भनाइ छ । >
महासचिव पाण्डेले भने निजामती कर्मचारी विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा ‘बाहेक’ थपिएकोबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे । उनले रातोपाटीसँग भने, ‘सदनबाट पास भएको संघीय निजामती कर्मचारीसम्बन्धी विधेयकमा प्रतिवेदनभन्दा बाहेक शब्द थपिएकोबारे पत्रपत्रिका र अनलाइनमा आएपछि मात्रै थाहा पाएको हुँ ।'>
उसो त राज्यवस्था तथा सुशासन समितिकै सभापति रामहरि खतिवडामाथि पनि नैतिक जिम्मेवारी छ । उद्यपि उनले आफूलाई यसबारे कुनै जानकारी नरहेको जिकिर गर्दै आए पनि समितिकै सदस्यहरूले यो विषयमा छानबिनमात्रै होइन, उनको राजीनामासमेत माग्न सुरु गरिसकेका छन् ।>
>
>
>
>
>
>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन