सुनसरी । नेपाल मुस्लिम संघ, जिल्ला कार्य समिति सुनसरीको आयोजनामा नेपाल मुस्लिम संघ कोशी प्रदेशका सभापति तथा कोशी प्रदेशसभा सदस्य माननीय हाजी इस्राइल मन्सुरी ज्यू कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्री पदमा नियुक्त हुनुभएको उपलक्ष्यमा भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।>
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी, युवा तथा नेपाल मुस्लिम संघका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले लामो समयदेखि सामाजिक सेवा, स्वास्थ्य क्षेत्र तथा मुस्लिम समुदायको हकहितका लागि निरन्तर योगदान पुर्याउँदै आउनुभएका मन्सुरीको मन्त्री नियुक्तिले समावेशी शासन र अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई थप मजबुत बनाएको बताए।>
सम्मानित मन्तव्य राख्दै मन्त्री हाजी इस्राइल मन्सुरी ज्यूले आफूलाई प्राप्त जिम्मेवारीलाई जनताको सेवा, प्रदेशको समग्र विकास र उद्योग, कृषि तथा सहकारी क्षेत्रको सुदृढीकरणमा केन्द्रित गर्दै इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबै समुदायको साथ, सहयोग र विश्वासले मात्र कोशी प्रदेशलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो।>
कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका अध्यक्षले मन्तव्य राख्दै मन्सुरी ज्यूको राजनीतिक यात्रा संघर्ष, त्याग र सेवाभावले भरिएको रहेको उल्लेख गर्दै उहाँको नेतृत्वले प्रदेशका सम्पूर्ण जनतामा आशा र विश्वास जगाएको धारणा व्यक्त गर्नुभयो।>
स्वागत तथा सम्मान कार्यक्रममा खादा, माला तथा सम्मानपत्र प्रदान गरिएको थियो भने कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन