कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट पीडित बचतकर्तालाई राहत दिने प्रक्रिया सुरु गरेको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुनसरीको इटहरीस्थित अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाबाट बचत रकम फिर्ता गर्ने कार्य प्रारम्भ गरेको हो।>
समितिले सोमबार पत्रकार सम्मेलन गरी पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत भएका २८७ जना बचतकर्तालाई रकम फिर्ता गरिने जनाएको छ। यसअन्तर्गत कुल २८ लाख ५७ हजार रुपैयाँ वितरण गरिनेछ।>
समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार २०८१ मंसिर १८ गते समिति गठन भएसँगै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व व्यवस्थापनको प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि संस्थाका करिब दुई हजार महत्त्वपूर्ण कागजात व्यवस्थापन गर्नुका साथै सञ्चालक समिति, व्यवस्थापक र कर्मचारीको अधिकार निलम्बन गरिएको थियो।>
समितिले अनुसन्धानका क्रममा जिल्ला अदालत, सुनसरीबाट कागजातको प्रमाणित प्रतिलिपि प्राप्त गरी सुरक्षा निकायसँग समन्वयमा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। सहकारीमा नौ हजार ५५९ शेयर सदस्य रहेका छन् भने शेयर रकम चार करोड ६ लाखभन्दा बढी रहेको छ। संस्थाको कुल बचत दायित्व ४२ करोड ६० लाख ९८ हजार रुपैयाँभन्दा बढी रहेको र हालसम्म एक हजार १७३ जना बचतकर्ताले करिब २४ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी पेश गरेका छन्।>
समितिका अनुसार सहकारीका तत्कालीन अध्यक्ष फडिन्द्रबहादुर पूर्वछाने सबैभन्दा ठूलो ऋणी रहेको र उनले करिब २० करोड रुपैयाँ ऋण लिएर अपचलन गरेको पाइएको छ। समितिले ४२ वटा जग्गा रोक्का गरिसकेको छ भने ऋण नतिर्ने तीन जनाको जग्गा लिलामी प्रक्रियामा लैजाने तयारी गरिएको छ।>
बचत फिर्ता प्रक्रियाअन्तर्गत हालसम्म बैंक खातामा एक करोड ३८ लाख रुपैयाँभन्दा बढी जम्मा भएको र बचत मिलानमार्फत एक करोड ९० लाख रुपैयाँ फिर्ता भइसकेको जनाइएको छ। समितिले संस्थाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरी आर्थिक पारदर्शिता कायम गर्ने प्रयास गरेको छ।>
उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले पहिलो चरणपछि एक लाख रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई पनि क्रमशः भुक्तानी गरिने बताए। उनका अनुसार करिब तीन सय बचतकर्ताले तत्काल राहत पाउनेछन्।>
कोसी प्रदेशमा हाल एक हजार ६३ सहकारी संस्था रहेका छन्, जसमा करिब आधा मात्र नियमित रूपमा सञ्चालनमा रहेका छन्। अन्य सहकारीमा अनियमितता देखिएको मन्त्रालयले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन