मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |
मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

१ आश्विन २०८२, आइतबार

इरानमाथि इजरायली आक्रमणकाे अर्थराजनीति

Purwanchal Khabar
इजरायलको आक्रमण इरानको परमाणु कार्यक्रमविरुद्ध हुँदै होइन । खासमा यो आक्रमण इरानले प्रयोग गरिरहेको अर्थ-राजनीतिक शासन व्यवस्थाविरुद्ध हो । इरानले पश्चिमा शक्ति राष्ट्रहरूबाट कठोर प्रतिबन्ध, युद्धको धम्की र कूटनीतिक बहिष्करण भोग्दा पनि कहिल्यै विश्वका शक्त्ति राष्ट्रहरूसामु घुँडा टेकेको छैन ।

इरान र इजरायलको तनावपूर्ण वर्तमान स्तिथिले फेरि पनि विश्व राजनीति तरंगित भएको छ । इजरायलको इरानमाथि अचानक यो आक्रमणले धेरै प्रश्नहरू उठाएको छ । तर, प्रख्यात अमेरिकाका राजनीतिज्ञ बर्नी स्यान्डर्सको सामाजिक सञ्जालमार्फत भनेको कुरा हामीले मनन गर्ने हो भने इजरायलमाथि शंका गर्ने आधार तयार हुन्छ । उनले भनेका छन्, 'आइतबारका लागि इरानको आणविक कार्यक्रमबारे वार्ता तय गरिएको थियो । तर, त्यसको साटो नेतान्याहुले इरानमाथि (बिहीबार राति) अवैध आक्रमण सुरु गरे, जसमा युद्धविरामका एक उच्च वार्ताकारको ज्यान गयो । यस कदमले अमेरिकाको कूटनीतिक प्रयासलाई कमजोर पार्नुका साथै अनगिन्ती निर्दोष नागरिकहरूको जीवन जोखिममा पारेको छ । हामी फेरि नेतान्याहुको अर्को युद्धमा तानिनु हुँदैन ।'

नेतान्याहु लामो समयदेखि इरानको आणविक कार्यक्रमलाई इजरायलको अस्तित्वका लागि प्रत्यक्ष खतरा ठान्दै आएका छन् । उनको विश्वासअनुसार, इरान अब परमाणु हतियार विकास गर्ने निर्णायक मोडमा पुगेको छ । नेतान्याहुको धारणाअनुसार इरानलाई रोक्ने एक मात्र उपाय सैन्य कारबाही हो । तर, इजरायलको सैन्य क्षमता मात्रले यस्तो पूर्ण युद्ध सामना गर्न गाह्रो हुन सक्छ, त्यसैले इजरायलले इरानलाई यति हदसम्म उकास्न खोज्छ कि इरान प्रत्यक्ष रूपमा आक्रमणमा उत्रियोस् । त्यसपछि इजरायलको प्रमुख रणनीतिक साझेदार अमेरिका आफैँ उक्त युद्धमा तानियोस् भन्ने चाहना इजरायल राख्छ । नेतान्याहुको उद्देश्य इरानविरुद्ध व्यापक क्षेत्रीय युद्धको वातावरण सिर्जना गर्नु हो, जसमा अमेरिका अनिवार्य रूपमा संलग्न हुन बाध्य बनोस् ।

यो धारणा एक प्रकारले सोच्ने हो भने तार्किक लाग्न सक्छ । तर, भित्री कथा भने बेग्लै छ । यो आक्रमण इरानको परमाणु कार्यक्रमविरुद्ध हुँदै होइन । खासमा, यो आक्रमण इरानले प्रयोग गरिरहेको अर्थ-राजनीतिक शासन व्यवस्थाविरुद्ध हो । इरानले पश्चिमा शक्ति राष्ट्रहरूबाट कठोर प्रतिबन्ध, युद्धको धम्की र कूटनीतिक बहिष्करण भोग्दा पनि कहिल्यै विश्वका शक्त्ति राष्ट्रहरूसामु घुँडा टेकेको छैन । त्यसैले पनि यसलाई विश्व-सत्ताविरोधी प्रतिरोधको अद्भुत उदाहरण मान्न सकिन्छ ।

इरानको शक्ति, यो देशको इतिहास, विचारधारा र आत्मबलमा आधारित छ । सन् १९७९ को इस्लामिक क्रान्तिले केवल शाहको पतन गरेन, उसले पश्चिमी साम्राज्यवादको विरुद्धमा वैकल्पिक शासन मोडल पनि प्रस्ताव गर्‍यो । इरानका शासकहरू चाहे उनीहरू धार्मिक हुन् वा राष्ट्रवादी, पश्चिमी प्रभुत्वलाई अस्वीकार गर्ने साझा रणनीतिमा उभिएका छन् । प्रतिबन्धहरूले इरानी जनतालाई झनै आत्मनिर्भर र प्रतिरोधी बनाएको छ र यसको कारण इरानले आफ्नै वैज्ञानिक, सैन्य र आर्थिक पूर्वाधार विकास गर्दै आएको छ । यो केवल एक राष्ट्रको आत्मरक्षाको कथा होइन, यो शक्ति र आत्मसम्मानका आधारमा निर्माण भएको प्रतिरोधको पाठशाला हो, जसले विश्वका शक्तिशाली राष्ट्रहरूलाई पटकपटक चुनौती दिँदै आएको छ ।

वर्तमान अवस्थामा इरान केवल एउटा देश मात्र होइन, यो एक प्रतिकात्मक शक्ति हो । यो देशले विश्वव्यापी साम्राज्यवादी व्यवस्थालाई खुल्लमखुल्ला चुनौती दिन सफल भएको छ । अमेरिकी डलरको वर्चस्वमा आधारित वैश्विक वित्तीय प्रणालीलाई अस्वीकार गरी इरानले वैकल्पिक आर्थिक मार्ग अपनाएको छ भने पश्चिमी तेल कम्पनीहरूलाई बाहिर खेदाएर आफ्ना प्राकृतिक संसाधनहरूमा पूर्ण स्वामित्व कायम गरेको छ ।

दशकौँदेखि कडा आर्थिक प्रतिबन्ध, वित्तीय नाकाबन्दी र अन्तर्राष्ट्रिय बहिष्करणको सामना गर्दा पनि इरानले आत्मसमर्पण गर्नुको सट्टा आत्मनिर्भरताको मार्ग रोजेको छ । यसले गर्दा वैज्ञानिक प्रगति, रणनीतिक दूरदर्शिता र अटल राष्ट्रिय गर्वले यो देश ओतप्रोत छ । इरानले शक्तिशाली राष्ट्रहरूको दबाबमा पनि दृढ इच्छाशक्ति र राष्ट्रिय एकताबाट स्वतन्त्र अस्तित्व बचाइराख्न सकिन्छ भन्ने प्रमाणित गरेको छ । इरान आज विश्वमा भू-राजनीतिक इकाइ मात्र होइन, तर प्रतिरोध, स्वाधीनता र असमान शक्ति संरचनाविरुद्धको संघर्षको ज्वलन्त प्रतीक पनि हो ।

इरानको वास्तविक खतरा यसको परमाणु प्रविधिमा होइन, बरु उसले प्रस्तुत गरेको स्वतन्त्रताको वैकल्पिक प्रतिमानमा निहित छ । इरानले पश्चिमी प्रभुत्व अस्वीकार गर्दै पनि राष्ट्रिय सम्प्रभुता कायम राख्न सकिन्छ, आत्मनिर्भर विकास सम्भव छ र राष्ट्रिय गौरवलाई राजनीतिक र रणनीतिक शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

यो मोडेल केवल मध्यपूर्वका लागि सीमित छैन, बरु उपनिवेशवादी इतिहास बोकेका सबै विकासशील राष्ट्रहरूका लागि एउटा प्रेरणादायी विकल्प बनेको छ । यही कारणले पश्चिमी शक्तिहरू इरानलाई सैन्य हैसियतभन्दा बढी एक वैचारिक चुनौतीको रूपमा हेर्छन् । किनभने उसले उनीहरूको विश्वव्यवस्था, आर्थिक प्रभुत्व र सांस्कृतिक आधिपत्यको वैधतालाई मूलतः अस्वीकार गरेको छ । इरानले शक्ति समीकरणलाई पुनःपरिभाषित गर्दै चेतना, स्वाभिमान र सामूहिक संगठनमा आधारित नयाँ ढाँचा प्रस्तुत गरेको छ, जुन पश्चिमी वर्चस्वका लागि सबैभन्दा खतरनाक संकेतका रूपमा देखिएको छ ।

इरानले तेल उद्योग, केन्द्रीय बैंक र सैन्य पूर्वाधारजस्ता रणनीतिक संस्थानहरूमा पूर्ण स्वदेशी नियन्त्रण कायम गर्दै विश्वव्यापी साम्राज्यवादी संरचनालाई प्रत्यक्ष चुनौती दिएको छ । विदेशी सैन्य अड्डा वा अन्तर्राष्ट्रिय बैंकहरूको कुनै उपस्थिति नहुनु इरानको आर्थिक र सैन्य स्वायत्तताको ठोस प्रमाण हो । यही अद्वितीय आत्मनिर्भरताले इरानलाई वर्तमान विश्व व्यवस्थाका लागि 'खतरनाक' उदाहरण बनाउँछ, किनभने जब कुनै राष्ट्रले आफ्ना सम्पूर्ण रणनीतिक स्रोतहरूमा बाह्य हस्तक्षेपबिना पूर्ण सम्प्रभुत्व कायम गर्छ, त्यसले विश्व शक्ति सन्तुलनमा गहिरो परिवर्तन ल्याउँछ ।

इरानले देखाएको मोडेलले साम्राज्यवादी प्रभावबाट मुक्त रहीकन पनि एक राष्ट्र बलियो, आत्मनिर्भर र संगठित बन्न सक्छ भन्ने प्रमाणित गर्छ । यो केवल वैकल्पिक बाटो होइन, स्थापित पश्चिमी शक्ति संरचनाका लागि असहज चुनौती हो, जसले उनीहरूको आर्थिक प्रभुत्व र सैन्य विस्तारको वैधतालाई नै प्रश्नचिह्नमा राख्छ ।

इरान केवल एक राष्ट्र-राज्य मात्र होइन, यो आजको विश्व राजनीतिमा एक निर्णायक भू-राजनीतिक संरक्षक शक्ति पनि हो, जसको प्रभाव विश्वका महत्त्वपूर्ण रणनीतिक क्षेत्रहरूमा गहिरो रूपमा फैलिएको छ । स्ट्रेट अफ हर्मज (Strait of Hormuz) मा इरानको नियन्त्रण, जहाँबाट विश्वको २० प्रतिशतभन्दा बढी तेल आपूर्ति हुन्छ, उसलाई वैश्विक ऊर्जा सुरक्षाको केन्द्रविन्दुमा उभ्याउँछ ।

साथै, रूस, चीन र मध्य एसियाली मुलुकहरूसँगको यसको सामरिक सहकार्यले इरानलाई पश्चिमी वर्चस्वविरुद्ध उभिने वैकल्पिक शक्ति ध्रुवको स्तम्भ बनाएको छ । सिरियामा तत्कालीन असद शासनलाई समर्थन, लेबनानमा हिजबुल्लाह, यमनमा हुथी विद्रोहीहरू र इराकमा सिया मिलिसियाहरूलाई संगठित गर्ने क्षमताले इरानको क्षेत्रीय प्रभाव पश्चिमी एसियाको हृदयसम्म फैलिएको छ । यस बहुआयामिक प्रभावका कारण इरानलाई केवल एउटा सार्वभौम देश होइन, भू-राजनीतिक द्वारपाल (geopolitical gatekeeper) का रूपमा चिनिन्छ, जहाँबाट वर्तमान एकध्रुवीय शक्ति सन्तुलनलाई चुनौती दिने नयाँ विश्व व्यवस्थाको सम्भावना देखिन्छ । यही रणनीतिक गहिराइ र वैचारिक दृढताले इरानलाई समकालीन अन्तर्राष्ट्रिय सम्बन्धहरूमा असाधारण भूमिका दिलाएको छ ।

पश्चिमी मिडियाले इरानलाई प्रायः 'दुष्ट राष्ट्र' (rogue state) र पिछडिएको कट्टरपन्थी समाजको रूपमा प्रस्तुत गर्न खोज्छन् । तर, वास्तविकतामा इरानको राजनीतिक-सामाजिक संरचना अत्यन्तै परिष्कृत र रणनीतिक छ । यहाँको शासन प्रणालीले फारसी सभ्यताको ऐतिहासिक गौरव, सिया इस्लामको धार्मिक पहिचान र विदेशी हस्तक्षेपविरुद्धको साझा स्मृतिलाई राजनीतिक एकताको आधारस्तम्भ बनाएको छ ।

इस्लामिक क्रान्तिपछिको ४ दशकमा इरानी शासक वर्गले आफ्नो वैधता कायम राख्न 'साम्राज्यवाद विरोधी संघर्ष' र 'सांस्कृतिक स्वाधीनता'को विमर्श सफलतापूर्वक स्थापित गरेको छ । सरकारले नागरिकहरूमा राष्ट्रिय एकताको भावना जगाउन अत्याधुनिक प्रचारतन्त्र (propaganda machinery) को प्रयोग गर्छ, जसमा राज्यनियन्त्रित मिडिया, शैक्षिक पाठ्यक्रम र धार्मिक संस्थाहरू समावेश छन् । यसले केवल आन्तरिक राजनीतिक स्थिरता मात्र कायम गरेको छैन, तर पश्चिमी प्रभावविरुद्धको सांस्कृतिक प्रतिरोध पनि सञ्चालन गर्छ । यही कारणले इरान सैन्य-रणनीतिक क्षेत्रमा मात्र नभएर सूचना युद्ध (information warfare) र सांस्कृतिक प्रभुत्व (cultural hegemony)को लडाइँमा पनि एक प्रमुख शक्तिको रूपमा उभिएको छ ।

इरानमाथि प्रत्यक्ष सैन्य आक्रमण गर्नु विश्व शक्तिहरूका लागि अत्यन्त जोखिमपूर्ण र रणनीतिक दृष्टिले आत्मघाती निर्णय बन्न सक्छ, जसका पछाडि गहिरा कारणहरू छन् । पहिलो, इरानको जटिल भूगोल; विशाल मरुभूमि, दुर्गम हिमाली क्षेत्र र रणनीतिक रूपमा कठिन सीमा क्षेत्रहरूले कुनै पनि आक्रमणकारीलाई सैन्य रूपमा गम्भीर अप्ठ्यारोमा पार्न सक्छ । दोस्रो, ८ करोड ८० लाख जनसंख्या मात्र नभई राष्ट्रवादी चेतना, धार्मिक आस्था र उच्च शिक्षित युवाशक्तिले यो देशलाई विदेशी हस्तक्षेपविरुद्धको एक जीवन्त मानवीय किल्ला बनाएको छ ।

इरानले पश्चिमी प्रभुत्व अस्वीकार गर्दै पनि राष्ट्रिय सम्प्रभुता कायम राख्न सकिन्छ, आत्मनिर्भर विकास सम्भव छ र राष्ट्रिय गौरवलाई राजनीतिक र रणनीतिक शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

तेस्रो, इरानले ८ वर्षे इरान–इराक युद्धको कठोर अनुभवबाट आत्मनिर्भर सैन्य प्रणाली, युद्धकालीन अर्थतन्त्र र जनसहभागितामा आधारित प्रतिरक्षा रणनीति विकास गरिसकेको छ । चौथो, रुस र चीनसँगको रणनीतिक साझेदारी र लेबनानी हिजबुल्लाह, यमनी हुथी विद्रोही र इराकी सिया मिलिसियाहरूसँगको क्षेत्रीय प्रभावले यस्तो कुनै पनि युद्धलाई केवल इरानसम्म सीमित नराखी सम्पूर्ण पश्चिमी एसियामा फैलाउने सम्भावना निम्त्याउँछ । त्यसैले, इरानमाथिको आक्रमण कुनै सामान्य सैन्य कारबाही होइन, यो एक यस्तो भुल हुन सक्छ, जसले वैश्विक शक्ति सन्तुलन नै तहस-नहस पार्न सक्छ ।

पश्चिमी शक्तिहरूले इरानमाथि प्रत्यक्ष सैन्य कारबाही गर्न नसकेपछि उसलाई दबाबमा राख्न आर्थिक युद्धलाई मुख्य रणनीति बनाएका छन्, जसअन्तर्गत कठोर वित्तीय प्रतिबन्ध, अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली (जस्तै; SWIFT) बाट बहिष्कार र तेल निर्यातमा नाकाबन्दीजस्ता उपायहरू प्रयोग गरिएका छन् । तर, इरानले यस्ता उपायहरूको सामना गर्न केवल प्रतिरोधमा सीमित नरहेर, सृजनात्मक आर्थिक रणनीतिहरू पनि अपनाएको छ । उसले डलर-आधारित व्यापार प्रणालीको विकल्प-स्वरूप वस्तु विनिमय (commodity swaps), सुनको साटोमा तेल (gold-for-oil), डिजिटल मुद्रा (cryptocurrency) को प्रयोग, र चिनियाँ युआन तथा रुसी रुबललाई वैकल्पिक भुक्तानी माध्यमको रूपमा प्रयोग गर्दै नयाँ आर्थिक ढाँचा निर्माण गरेको छ ।

यी उपायहरूले इरानलाई केवल पश्चिमी प्रतिबन्धहरूको प्रभावबाट जोगाएको मात्र छैन, तर भेनेजुएला र  उत्तर कोरियाजस्ता अन्य प्रतिबन्धित राष्ट्रहरूलाई पनि आर्थिक आत्मनिर्भरताको सम्भावना देखाएको छ । यही रचनात्मक प्रतिरोध र रणनीतिक लचकताले इरानलाई कठोर आर्थिक घेराबन्दीका बाबजुद पनि आफ्ना राष्ट्रिय हित र विकास यात्रामा अगाडि बढ्न सक्षम बनाएको छ ।

इरानको सामरिक शक्ति केवल यसको सैन्य क्षमता वा प्राकृतिक संसाधनमा सीमित नभएर यसको सामूहिक मानसिकतामा निहित छ । एक असाधारण उदाहरण जहाँ राष्ट्रिय विचारधाराले आर्थिक लाभलाई पछ्याउँछ । यो त्यस्तो सभ्यतागत प्रतिरूप हो, जसले सांस्कृतिक पहिचान र धार्मिक एकताको बलमा चार दशकदेखि अमेरिकाविरोधी प्रतिरोध कायम राख्न सफल भएको छ ।

इरानी प्रणालीले केवल राज्य सञ्चालनमा नभएर, शिक्षा प्रणाली, मिडिया नेटवर्क र धार्मिक संस्थाहरूमार्फत समाजको मानसपटलमा पश्चिमी मूल्यहरूविरुद्धको प्रतिरोधक क्षमता सिर्जना गरेको छ । यसले राष्ट्रिय अस्मिता र आत्मनिर्भरताको अदम्य भावना विकसित गरेर इरानले भौतिक प्रतिबन्धहरूमाथि विचारधाराको किल्ला बनाएको छ । यस्तो मनोवैज्ञानिक सुदृढीकरण, जुन न त आर्थिक प्रतिबन्धले भत्काउन सक्छ, न त सैन्य आक्रमणले नष्ट गर्न सक्छ, वास्तवमा कुनै पनि परमाणु हतियारभन्दा बलियो र दीर्घस्थायी साबित भएको छ । यही वैचारिक अटलताले इरानलाई समकालीन भू-राजनीतिमा विशिष्ट रूपमा सशक्त बनाएको छ ।

इरानले विश्व शक्तिहरूको प्रभुत्वलाई चुनौती दिने साहस गरेको छ, किनभने यसले उनीहरूको नियमअनुसार खेल्न अस्वीकार गरेको छ । यसको दृष्टिकोण पश्चिमी मान्यताको अन्धानुकरण गर्नु होइन, तर वैकल्पिक सभ्यताको मोडेल प्रस्तुत गर्नु हो, जहाँ सांस्कृतिक स्वायत्तता, राजनीतिक स्वतन्त्रता र आर्थिक आत्मनिर्भरतालाई सर्वोच्च प्राथमिकता दिइन्छ ।

जब एक राष्ट्रले वैश्विक प्रभुत्वको समानान्तरमा आफ्नो स्वतन्त्र मार्ग निर्माण गर्छ, यसले सम्पूर्ण विश्व व्यवस्थाको वैधतामा नै प्रश्न उठाउँछ । इरानको उदाहरणले अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत भए पनि, कठोर प्रतिबन्ध झेल्दा पनि राष्ट्रहरू सफलतापूर्वक अस्तित्व कायम राख्न सक्छन् भन्ने देखाउँछ । यसले वैश्विक शक्ति केन्द्रहरूको अपरिहार्यताको भ्रमलाई तोड्छ र अन्य राष्ट्रहरूलाई पनि वैकल्पिक मार्गको अस्तित्वबारे जागरुक बनाउँछ । यही कारणले इरानको स्वतन्त्र अस्तित्व विश्व साम्राज्यवादी शक्तिहरूका लागि वास्तविक चुनौती हो । किनभने यसले उनीहरूको प्रणालीको 'एक मात्र विकल्प' भन्ने दाबीलाई झुटा ठहर्‍याउँछ ।


प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार